Thursday, 6 March 2014

सपना . ... व्यर्थ भो!!


धरतीको गर्भमा विलीन हुने
ए मेरा पुर्खा हो
तिम्रो बलिदान व्यर्थ भो
जातीय अस्मिता भन्दा ठुलो आज
नेताहरुको स्वार्थ भो,
राजनीतिक टुड़ी खेलमा
जनता जाबो दर्शक भो
ट्रॉफी छैन हात रित्तै
तर पनि कस्तो विजय यो?
जुन जोगी आए नि कान चिरेको
विश्वास योग्य छन र को?
चुनाव आउंदा बौरी उठ्छ्न
चुनाव पछि फेरि सुत्छ्न
हाम्रा प्रिय नेता भानौदो,
आन्दोलन र बन्द पनि
फगत एउटा नाटक भो
आफ्नो बारीमा खेल्ने रम्ने
सपना मेरो व्यर्थ भो
सपना....मेरो व्यर्थ भो।

Friday, 23 August 2013

भालेमुन्ग्रोको गीत

भालेमुङग्रोको गीत

डाँडामाथि बसेर तिम्रो त्यो
उल्लु जस्तो आँखाले
टुलुटुलु के हेरेको?
छैन अब केही पनि मेरोमा,
नाँगो झार छु म
तिम्रो त्यो मिसरी बोलीमा
लट्ठ भएर
भए जति सबै सुम्पिसके तिमीलाई
अब आश नगर मबाट
हिजअस्तीसम्म मेरो एम्पलिफायरमा
माइक लगाई गीत गाउँथ्यौ
आज  त ठुलो मान्छे भयौ होइन!
ठुलो ठुलो कार्यक्रम गर्ने भयौ
ठुलो ठुलो कुरा गर्ने भयौ
जाबो थोत्रो भयौ हामी त
तिम्रो निम्ति आज होईन!
तिम्रो त्यो न्यानो गुँडमा बसेर
लोथर्के दाँत देखाई नगिज्याँउ मलाई
म पनि किन्न सक्छु तिम्रो जस्तो माइक
म पनि गाउन सक्छु
तिम्रो जस्तो गीत
थोत्रो एम्पलिफायर भएपनि
गाउनेछु म गीत
तर साँचो गीत गाउनेछु
भालेमुङग्रो जस्तो होइन।।

Monday, 19 August 2013

हजुर....... म डुवार्स!


हजुर म डुवर्स,
तपाईको प्यारो डुवार्स
टिस्टादेखि सुनकोशसम्म फैलिएको
हरिया चियाका बुट्टाले सजिएको
हजुर म तपाईको प्यारो डुवर्स,
शोषण र अत्यचारले पिल्सिएको
क्याक्टसको काँडा झैं बिझाइरहने
मुटुमा आफ्नै व्यथा बोकेको
हजुर म डुवर्स,

राजनैतिक ‘टग अफ वार ‘मा
आफ्नॊ चिनारी हराएको
जाति र माटोको लडाईमा आज
‘बार्गेनिङ्ग प्वाइन्ट ‘मात्रै बनेको
हजुर म डुवर्स,

रगतको खोला बगाएर
इतिहासबाट तिरस्कार पाएको
तरै पनि आशमा जिउने
प्यारासाइटको जीवन धान्ने
हजुर म डुवर्स,

डार्विनवादमा अल्झिएर
अस्तितवको लडाईमा सम्पूर्ण गुमाउने
हजुर म डुवर्स,
कञ्चनजंगामा घाम झुल्कँदा
मैदानहरु अन्धकारमा डुबेको देख्दा
पनि मौनधारण गरी शोक मनाउने
हजुर म डुवर्स,
हजुर म नै हो डुवर्स ।।

दशैंको आगमन अनि हाम्रो गाँऊ!!

हिजोआज हाम्रो गाउँमा
हल्ला निकै छ,
समयअगावै चाडको
हावा चलेको छ,
पत्ती टिपी वर्षभरि परिस्रमको फल
बोनस थाप्न सबैमा होड चलेको छ,
पैसा थापी बजारजाने
सबैको  सुरसार छ,
एक छाक मिठो खाना आज
बल्ल जुटेको छ,
केटाकेटी भुराभुरी रमाउँदैछन् धेरै
नयाँ लुगा पाउने आशमा
खुशी छैनन थोरै,
जेठा कान्छा गौथली भँगेरी
तम्तयारमा छन्
दशैँ आउन लाग्यो सम्झी
हर्षित हुन्छ मन,
दशैँ होइन दशा हो भन्छन्
सिरीखुरी सबै पार्छ रे
महँगीको मारले यहाँ
कम्मरनै भाँच्छ रे,
इष्टमित्र सबै भेला हुने
अब बेला आएको छ
वर्षभरिको थकाईलाई बिर्सी
हाँस्ने मौका पाएको छ,
दशैँ भने नी  दशा भने नी
चाडपर्व हाम्रै हो
पुर्खौली सँस्कृति जगेरा गर्ने
कर्तव्य त  हाम्रो हो,
प्रकृतिपनि हर्षित भई
मुसुक्क मुस्काएको छ,
पारी खोलाको त्यो सेताम्मे काँशले
दशैँको आगमनलाई
स्वागत जनाउँदै छ ...
स्वागत जनाउँदै छ!!!

कविता तिमी......!!


कलयुगको मध्यरात्रीमा
कुम्भकर्णका सन्तानहरुलाई जगाउन
जागृतिका एकमुठी शब्दहरू बोकी यहाँ
कविता तिमी नचिच्याऊ
जिउँदो लाशले पनि सुन्छ र?

शोषणका असंख्यौ पाइलाहरुले
थिचिएर - चेप्टिएर
धरतीको गर्भमा विलीन हुनेहरुलाई
खोजी निकाल्ने काम
कविता! तिमी नगर

बाघको छाला ओडी हिड्ने
आडम्बरी स्यालहरुलाई
नाङ्गोझार बनाई अस्तित्व चिनाउने दर्पण
कविता तिमी नबन

निर्धा गरीबहरुका रगत चुसी
पुस्टिएका मच्छर भनौदाहरुलाई
मोरटीन - अलआउट 'जलाई
लखेट्ने काम
कविता तिमी नगर
यहाँ तिम्रो विचार कसले सुन्छ र ...?

म अनि मभित्रको द्वन्द्व

' म ' अनि मभित्रको द्वन्द्व!!

हो म
होईन पनि म,
दुई भागमा बाँडिएको म
जोडिएको पनि म,
माया म
घृणा पनि म,
दानवीर दयालु म
लोभी ईर्ष्यालु पनि म,
प्रकाशभन्दा गतिशील म
स्थिर पनि म,
सुखको हाँसो म
दुःखको आँशु पनि म,
जन्मदिने जननी म
मृत्यु —काल पनि म,
नश्वर शरीरमा म
आत्मामा पनि म,
ब्रम्हाण्डमा नअटाउँने म
जाबो सुक्ष्म एटमभित्र पनि म,
म के हो त?
म को हो त?
'म '
मनभित्रको म हो कि
मस्तिष्कको म हो।